शनिबार अमेरिकाको टेक्सस स्थित करी लिभ रेस्टुरेन्ट नेपाली नारिहरुको बृहत सहभागिताले भरिने भएको छ । बिभिन्न खानाका परिकार पाईने करी लिभमा एकै दिन २ वटा कार्यक्रम आयोजना हुने भएपछि अगष्ट २७ शनिबार बिहानबाट मध्यरात सम्म उल्लासमय वातावरणमा तिज कार्यक्रम हुने भएको छ ।
सो दिन दिनभर डिएफडब्लु लमजुङ्ग समाजको कार्यक्रम चल्नेछ भने साँझबाट मध्यरात सम्म अमेरिका मधेशी समाजको कार्यक्रम हुनेछ । मधेशी समुदायमा तिजको महत्वलाई साँझ र चन्द्रमासंग पनि हेरिने भएकाले तिज साँझ सुरु हुँदैछ । जे होस् सो दिन टेक्ससका नेपाली समुदाय र खास गरि डिएफडब्लु क्षेत्रका नारीहरु परिवार सहित करि लिभ रेस्टुरेन्टमा सहभागि हुने तयारीमा रहेका छन् । सहभागितालाई रौनकमय बनाउन बिदाको दिन पारेर कार्यक्रम आयोजना गरिएकाले पनि सो दिन करी लिभ परिसरमा नेपालीहरुको बाक्लो उपस्थिती देखिने निश्चित जस्तै भएको छ ।
DFW लमजुङ समाजको आयोजनामा अगष्ट २७ शनिबार विहान ११ स्३० बजेबाट सुरु हुने कार्यक्रम यो टेक्ससमा यो बर्षको लामो तिज कार्यक्रमका रुपमा देखिने भएको छ । साडे ६ घण्टा लामो तिज कार्यक्रमको समापन साँझ ६ बजे हुनेछ ।
व्यक्तीगत प्रवेशका लागि ३० डलर र पारिवारिक प्रवेशका लागि ५० डलर प्रवेश शुल्क राखिएको यो कार्यक्रम डिडब्लु एफ लमजुङ पहिलो तिज बिषेश कार्यक्रम हो । त्यसैले पनि आयोजक टिमले कार्यक्रमलाई बृहत सहभागितामुलक बनाउने लक्ष्य राखेको छ ।
यहि लक्ष्य अनुसार कार्यक्रमलाई दिनभरी संचालन गर्ने निर्णय गरिएको हो । तिजको मौलिकता अनुसार पनि तिज दिनभरी चल्ने पर्व हो, जहाँ फरक फरक समाजका नारीहरुको सहभागितामा नाचगान सकेर साँझ घर फर्कने चलन हुन्छ ।
त्यस्तै सो दिन साँझ पुन मधेशी समुदायको आयोजनामा सन्ध्याकालिन तिज सुरु हुने छ । लमजुगं समाजको कार्यक्रम सकिए लगत्ती अमेरिका मधेशी समाजको तिज कार्यक्रम सुरु हुनेछ ।
राती ११ बजे सम्म चल्ने ६ घण्टा लामो सन्ध्याकालिन तिज बिषेश अमेरिका मधेशी समाजको कार्यक्रममा नेपाली परिकार, संगीत, नृत्य, बालबालिकाका लागि खेलहरु लगायका प्रस्तुतीहरु रहने छन् ।
सहभागी मध्यको आकर्षक जोडीलाई उपहार समेतको व्यवस्था रहेको कार्यक्रममा उपस्थित हुन चाहनेहरु मध्य एकल सहभागिताका लागि २५ डलर र परिवार सहितको उपस्थितीका लागि ५० डलरको प्रवेश शुल्क तोकिएको छ ।
त्यस्तै कार्यक्रम आयोजना स्थल अभिङ्गको करी लिभ रेष्टुरेन्ट पछिल्लो समय नेपालीहरुको रोझाईमा पर्दै आएको रेष्टुरेन्ट हो, जहाँ यस बर्ष पनि बिभिन्न नेपाली कार्यक्रमहरु हुँदै आईरहेका छन् ।
मन्टिपल ब्यानक्युट हल भएको करि लिभमा ठुलो संख्यामा मानिसहरु अटाउन सक्ने क्षमता रहेकाले पनि नेपाली कार्यक्रमका लागि यो रेस्टुरेन्ट व्यस्त मानिन्छ ।
करी लिभका संचालक गोविन्दका अनुसार नेपाली, ईन्डियन, ईन्डो चाईनिज, ईटालियन लगायतका बिभिन्न स्वादका परिकार समेतको व्यवस्था भएको करी लिभमा २ थप ईभेन्ट सेन्टर पनि सुरु गर्ने तयारी रहेको छ जसको क्षमता ६ सय रहने छ ।