नेपाली ग्रामिण शैलीमा बृहत बनभोजको आयोजना गर्दै एनएसटी

NRNA NEWS
2022 Apr 07

अमेरिकाको टेक्सास राज्यमा रहेका नेपालीहरुको अग्रज संस्था नेपाली समाज टेक्सास एनएसटीले बृहत बनभोजको आयोजना गर्ने भएको छ । नेपाली मौलिक बनभोजको शैलीमा एनएसटीले आगामी अप्रिल १६ तारिख शनिबारका दिन बनभोज कार्यक्रम आयोजना गर्ने भएको हो ।

नेपाली नयाँ बर्ष २०७९ सालको अवसर पारेर आयोजना हुँदै गरेको बृहत बनभोज कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था रहेको छ ।

पारिवारिक र बालबालिका मैत्री वातावरणमा आयोजना हुन लागेको बनभोज कार्यक्रममा पिकनिक स्थलमा नै सबै मिलेर खाने कुरा बनाउने र खाने व्यवस्था गरिने छ ।

एनएसटी महासचिव सन्देश उप्रेतीका अनुसार बनभोज स्थलमा नै आपसमा मिलेर खाना बनाउने चलन नेपालका ग्रामिण क्षेत्रमा अझै पनि विद्यमान मौलिकता भएकाले यो संस्कार र चलन टेक्सासका नयाँ पुस्ता तथा वालबालिकाले जान्नु पर्ने आवश्यकता स्वरुप यस शैलीको बनभोज आयोजना गर्न लागिएको हो ।

उप्रेतीले मातृभूमि नेपालबाट टाढा रहेपनि संस्कार र आत्मियताले आपसमा सबै नेपालीलाई जोडेकाले यस बनभोज अभिभावका लागि आपसी सद्भाव र एकताको सन्देश र बालबालिका लागि नेपाल चिनाउने अवसरका रुपमा रहने विश्वास व्यक्त गरेका छन् ।

नेपाली सहभागिताको सहजताका लागि विदाको दिन पारेर आयोजना हुँदै गरेको बनभोजमा नेपाली सांगीतिक र साँस्कृतिक प्रस्तुती साथै बालबालिकाका लक्षित खेलकुदको वातावरणको व्यवस्था गरिएको छ । जस अन्तरगत एनएसटी पाठशाला र टोस्ट मास्टर्स क्लवबाट बिंगो खेल पनि प्रस्तुत गरिने छ ।

बनभोजमा उपस्थित हुन चाहनेहरुका लागि सहज बनाउन तथा बनभोजमा बृहत सहभागिताका लागि एनएसटीले फेसबुक ईभेन्ट पेज संचालन गरेको छ । यो समाचार तयार पार्दा सम्म सो पेज मार्फत ३ सय ६ जना टेक्सासबासी नेपाली बनभोजमा सहभागी हुन ईच्छुक रहेको देखिएको छ ।

error: Content is protected !!