सुन्दा पत्याउन गाह्रो हुने तर अहिले यस्तो पनि देश बनेको छ जहाँ प्याज भन्दा मासु सस्तो बन्न पुगेको छ ।
मासु विलासी भोजन भित्र पर्छ तरपनि फिलिपिन्समा प्याजको मूल्य कुखुरा वा गाईको मूल्य भन्दा बढी हुन पुगेको हो ।
फिलिपिन्समा लसुन र प्याज मिसाएर खानेकुरा पकाउने चलन शताब्दीऔँ पुरानो छ ।सन् १५२१मा स्पेनले फिलिपिन्सलाई गुलाम बनाएदेखि १८९८सम्म चलेको शासन अन्तर्गत त्यहाँ यस्तो चलनको विस्तार भएको पाइन्छ ।
हाल एक महिनायता फिलिपिन्सका आम नागरिकहरूलाई प्याज किन्नु गाह्रो भएको छ । माछामासु भन्दा प्याजको मूल्य महँगो हुन पुगेकोले यस्तो अवस्था सिर्जना भएको हो ।
फिलिपिन्समा प्याजको मूल्य यो साता प्रतिकिलो ११ अमेरिकी डलर देखयो भने कुखुराको मासुको मूल्य ४ अमेरिकी डलर रहेको थियो ।
प्याजको मूल्य फिलिपिन्सको औसत दैनिक ज्याला भन्दा पनि बढी हुन पुगेको छ । एक किलो प्याजको मूल्य ११ डलर भएको बेला फिलिपिन्सको औसत ज्याला ९ डलर भन्दा केही बढी रहेको छ ।
प्याजको मूल्यमा वृद्धि भएपछि त्यहाँ प्याजको तस्करी सुरु भएको हो । चीनबाट कपडामा लुकाइ ल्याइएको ३लाख १० हजार अमेरिकी डलर बराबको प्याज त्यहाँका अधिकारीहरूले जनवरीको सुरुमा जफत गरेका थिए ।
कतिपय फिलिपिनीहरूका अनुसार प्याजको मूल्य वृद्धिमा सरकारको मिलोमतो रहेको छ ।
प्याजबाट बन्ने खानेकुरा राजधानी मनिलाका रेस्टरन्टहरूका मेन्यूबाट हटाइएको छ ।
खानपानका व्यवसायीहरूले प्याजको विकल्पको रूपमा ज्याम मेलचोरको प्रयोग गर्न थालेका छन् । लसु भन्दा सानो आकारको यो वस्तु प्याजको स्वाद भन्दा भिन्न तर उसको ठाउँमा प्रयोग गर्न सकिने खाद्यपदार्थ हो ।
अगस्ट महिनामा त्यहाँको कृषि विभागले प्याजको उत्पादन घट्ने अनुमान गरेकाले प्याजको मूल्यमा वृद्धि भएको पहिलो कारण मानिएको छ ।अगस्ट सेप्टेम्बरमा फिलिपिन्समा भयंकर समुद्री आँधीतुपान आएकोले प्याज उत्पादनलाई हानि पु¥याएको थियो ।
विदेशबाट प्याज आयात गर्ने काममा ढिलाई हुँदा जनवरीमा प्याजको मूल्य आकासिन पुगेको हो ।
फिलिपिन्स सरकारले जनवरीमा २ करोड २० लाख टन प्याज आयात गर्न अनुमति दिएको थियो । यो आदेश पहिले दिनुपर्ने थियो भनी कतिपयले सरकारको आलोचना गरिरहेका छन् ।
फिलिपिन्सका मौजुदा राष्ट्रपति त्यहाँका पूर्व तानाशाह फर्डिनान्ड मार्कोसका छोरा जुनियर मार्केस हुन् । उनको कृषिमा अनुभव नभएपनि कृषि मन्त्री आफै बनेका छन् ।