अमेरिकाको नेपाली समुदायमाझ सुपरिचित विजय ज्ञवालीले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको सन २०२१–२०२३ कार्यकालको लागि ‘वोर्ड अफ डाईरेक्टर’ पदमा उमेदवारी दिएका छन् ।
सन् २०१७ मा अमेरिका आइपुगेका विजयले न्यूयोर्कलाई कार्यथलो बनाएर यहाँका विभिन्न सामाजिक संघसंस्थामा सक्रिय भई योगदान दिएका छन् । उनी हाल एनआरएन युथ कोअर्डिनेसन कमिटीका सदस्य छन्। उनले व्यवस्थापन विषयमा स्नातक तह र टुरिजममा स्नातकोत्तर गरेका छन् । विदेशमा हासिल गरेको सीप, क्षमता, दक्षता र पूँजीलाई नेपालको चौतर्फी बिकासका लागि सामुहिक लगानीको अवधारणा कार्यान्वयन गर्नुपर्ने उनको भनाई रहेको छ ।
एनआरएनलाई अझ व्यापक र प्रवासमा रहेका सबैको मन-मुटुमा बसाउनको लागि युवाहरुको प्रतिनिधित्व अनिवार्य रहेको उनले बताए । एनआरएनए अमेरिकाको बोर्ड डाइरेक्टर पदमा उमेदवारी दिएका ज्ञवालीसँग गरिएको कुराकानीको सारांश:
तपाईका चुनावी एजेन्डाहरु के कस्ता छन् ?
गैर आवासीय नेपाली संघप्रति युवाहरुको आकर्षण बढाई विभिन्न रचनात्मक काम गर्ने, प्रत्येक नेपाली संस्थाको सदस्य बन्नेतर्फ पहलकदमी गर्ने मेरा एजेन्डा हुन् ।
तपाईले दिनुभएको पदमा अरु धेरैजनाले उम्मेद्धवारी दिनुभएको छ, तपाईको चाहिँ के फरक योजना छ त ?
समाजसेवाप्रतिको मेरो सानैदेखिको हुटहुटी, धेरै शुभचिन्तकहरुको उत्प्रेरणा र संस्थामा युवाहरुको सकारात्मक हस्तक्षेपका लागि मेरो उमेदवारीले संस्थाले परिकल्पना गरेको लक्ष्य प्राप्तिका लागि सानै भए पनि तरंग ल्याउनेमा म आशावादी छु। एनआरएनएलाई राजनीतिक हस्तक्षेप मुक्त गराई रहरलाग्दो संस्था बनाउनका लागि सधै लागिरहने प्रण पनि गरेको हुनाले म अरू उम्मेदद्धवार भन्दा फरक छु ।
चुनावी प्रचारप्रसारका लागि कस्तो अभियान चालि रहनुभएको छ ?
म हाल भइरहेको चुनावी तडकभडकप्रति विल्कुल फरक मत राख्छु। प्रवासको चुनाव यति खर्चिलो हुनुहुदैन भन्ने मेरो अडान र मान्यता रहेको छ । त्यहि पनि चुनावी सेरोफरोमा मतदातासम्म पुग्न सूचना, प्रविधि र सामाजिक संजालमार्फत जोडिनी र उहाँहरूको राय लिदै त्यसरी नै चुनावी अभियानलाई तिब्रता दिइरहेको छु ।
एनआरएनए अमेरिकालाई अझ व्यापक र जनसमक्ष पुरयाउन के गर्नुपर्ला ?
गैर आवासीय नेपाली संघले आफ्नो उद्येश्य अनुरुप काम गर्न सकेको छैन । युवा, विद्यार्थी विभिन्न पेशामा आवद्ध विज्ञहरु लगायत सामान्य श्रम गर्ने श्रमिकहरु एनआरएनप्रति आकर्षित छैनन्, किनकी एनआरएन हुने खाने र त्यसैको आडमा राजनीति गर्नेहरुको संस्था भन्ने भान भएको छ। झण्डै साढ़े तीन लाख जनसंख्यामा २० हजारको हाराहारीमा मात्र सदस्यता लिनु र ती पनि कसैको खल्तीका भोट बन्नु बिडम्वनापूर्ण छ र यी सबै खाले विकृतिको अन्त्य गरी एनआरएनएलाई शुद्धिकरण गर्नुपर्छ ।
अन्त्यमा यस मिडियाबाट के भन्न चाहनुहुन्छ ?
गैर आवासीय नेपाली संघ सबै प्रवासी नेपालीहरुको साझा संस्था हो । परदेशी माटोमा बसेर पनि हामीलाई सधै नेपाली बनेर र नेपाली भनेर बाँच्न रमाउन पाउ र एनअरएनएलाई हाम्रो र राम्रो बनाउने अभियानमा अमेरिकामा बसोबास गर्ने सबैमा अनुरोध गर्न चाहन्छु ।