राजन त्रिपाठीको आइसीसी कोषाध्यक्ष पदमा उम्मेद्वारी घोषणा

NRNA NEWS
2021 Sep 06

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)को कोषाध्यक्ष पदमा अमेरिकाबाट राजन त्रिपाठीले उम्मेद्वारी घोषणा गरेका छन्।

हाल अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजकसमेत रहेका त्रिपाठीले हालसम्म हासिल गरेको अनुभव, ज्ञान र सिपलाई गैरआवासीय नेपालीहरुको हक हीत र जन्मभूमिका लागि अर्पण गर्न आफू आईसीसीको कोषाध्यक्षको उम्मेद्वार बनेको बताएका छन्।

सेप्टेम्बर ५ मा अमेरिकाबाट उम्मेद्वारी घोषणा गर्दै जारी गरेको प्रेस विज्ञप्तिमा उनले संसारभरि रहेका गैरआवासीय नेपाली समुदायका साझा मुद्दालाई नेपाल सरकार र विश्वभरका सम्बन्धित निकायहरुमा दह्रो आवाज उठाउन आफूले उम्मेद्वारी दिएको बताएका छन्।

उनिद्वारा प्रेसित बिज्ञप्ति

आदरणीय गैरआवासीय नेपाली समुदाय, संसारभरिका विभिन्न देशहरुमा छरिएर पनि हामी एकअर्काका साझा विषयहरुमा समान धारणा बनाउन, आपसका सुख दुख एक आपसमा बांड्न र आफ्नो मातृभूमिप्रतिको अभिभारा पूरा गर्न गैरआवासीय नेपाली संघमा आबद्ध हुंदै आएको केही बर्ष भइसकेको छ । यसबीचमा संसारभरिबाट हामी लाखौं लाख नेपालीहरु यो साझा संस्थाका सदस्य बनेका छौं र बन्ने क्रममा पनि छौं । यसको स्थापनादेखि नै लोकतान्त्रिक विधि र पद्धतिबाट हामीले हाम्रा साझा मुद्धाहरुलाई नेपाल सरकार र विश्वका सम्बन्धित निकायहरुमा दह्रोसंग उठाउन सबल र सक्षम नेतृत्वसमेत छान्ने अभ्यास गर्दै आएका छौं । यही अभ्यासका क्रममा आगामी अक्टोबरमा गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को नयां नेतृत्व छनौटका लागि निर्वाचन हुंदै छ । यो निर्वाचनका क्रममा मैंले पनि कोषाध्यक्ष पदमा उम्मेद्वारी दिने निर्णय गरेको छु ।

संयुक्त राज्य अमेरिकाको बसाइका क्रममा विगत बर्षहरुदेखि नै म नेपाली समुदायको हित, उन्नति, सुख दुख र मातृभूमिका लागि आफ्नो क्षमतालाई प्रयोग गर्दै आएको कुरा यहांहरुलाई जानकारी नै छ । गैरआवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषद्को अमेरिकाज क्षेत्रको क्षेत्रीय संयोजकका रुपमा कार्यरत रहंदा नेपाली समुदायका खास खास मुद्धाहरु संसारभर के हुन् र तिनलाई आफ्नो मातृभूमिको सरकार र संसारभरका सम्बन्धित निकायमा कसरी दह्रोसंग उठाउन सकिन्छ भन्नेबारे गहिरो अध्ययन गर्ने र कांधमा कांध मिलाएर अघि बढ्ने अवसर प्राप्त गरें ।

विश्वलाई नै तहस नहस बनाउने कोरोना महामारीको अन्यौलग्रस्त अवस्थामा आफ्नो समुदायको सुरक्षा कसरी गर्न सकिन्छ भन्नेतर्फ गरिएका प्रयासहरुले म अझ हौसिएको छु र गैरआवासीय नेपालीको आवाज बनेर अघि बढ्ने कुरामा मलाई ठूलो प्रेरणा मिलेको छ । यही प्रेरणा र हौसलालाई साक्षी राखेर आगामी निर्वाचनमा उम्मेद्वार बन्ने निर्णयमा पुगेको यहांहरुसमक्ष जानकारी गराउन पाउंदा पनि म अत्यन्त उत्साहित भएको छु ।
नेपालको सीमा भारतले मिचेर मातृभूमिलाई अप्ठ्यारो परेको बेला संयुक्त राष्ट संघको न्यूयोर्क मुख्यालयसम्म पुगेर नेपालबारे तथ्यपूर्ण जानकारी दिंदै सिमा मिच्नेलाई सजग गराउन दवाव सिर्जना गर्दा होस् वा युवा एवं महिलाका मुद्दाहरूमा अवाज उठाउंदा तथा छरिएर असंगठित बनेर बसेको अवस्थाका अमेरिकाज क्षेत्रका विभिन्न देशका नेपालीहरुलाई गैरआवासीय नेपाली संघभित्र संगठित गर्ने कार्य गर्दा होस् मैंले नेपाली समुदाय र मातृभूमिलाई शिरमा राखेको छु ।

हरेक संकट,समस्या र चुनौतिहरु आगामी दिनका लागि शिक्षा हुन् । सामाजिक कार्यका क्रममा आपसका देखिएका मतान्तरहरुलाई समाधानको प्रयास गर्दा होस् वा महामारीमा सजगताका लागि मन बचन र कर्मले लागिपर्दा होस् विगतका बर्षहरुले गैरआवासीय नेपाली संघलाई कस्तो बनाउनु पर्छ र यसलाई कसरी गैरआवासीय नेपालीजनको हितमा लगाउनुपर्छ भन्नेबारे मैंले आफूलाई तिखार्ने मौका पाएको छु । यो अनुभव, ज्ञान र सीपलाई अवको नेतृत्वदायी भूमिकाका लागि प्रयोग गर्ने मेरो जमर्को छ । र, यसमा संसारभर छरिएर रहनुभएका सम्पूर्ण गैरआवासीय नेपाली समुदायको साथ सहयोग रहन्छ भन्ने विश्वाससहित आज कोषाध्यक्ष पदका लागि उम्मेद्वारी घोषणा गरेको छु ।

कोषाध्यक्षका रुपमा म संस्थामा आर्थिक पारदर्शिता मेरो पहिलो एजेण्डा हुनेछ । गैरआवासीय नेपाली संघले विगतमा संचालन गरेका विभिन्न परियोजनाहरुका बारेमा उठेका प्रश्नहरुबाट शिक्षा लिन हामीले चुक्नु हुंदैन भन्ने मेरो विश्वास छ । निर्णय प्रक्रियामा हुने पारदर्शिताले संस्थाको हिसाव कितावलाई पनि पारदर्शी बनाउंछ । त्यसैले संघका सबै निर्णयहरु पारदर्शी र गैरआवासीय नेपालीहरुले स्वामित्व लिनसक्ने बनाउने र यसका लागि दरिलो आवाज उठाउने यहांहरुसमक्ष प्रतिबद्धता व्यक्त गर्दछु । सदाझै यहांहरुको साथ सहयोग प्राप्त हुने छ र कोषाध्यक्ष पदमा मलाई विजयी गराउनु हुनेछ भन्ने विश्वास लिएको छु ।

धन्यवाद जय एनआरएन
राजन त्रिपाठी
कोषाध्यक्षको उम्मेद्वार
हाल अमेरिका

error: Content is protected !!