गैर आवासिय नेपाली संघ अन्तराष्टिय परिषद् एनआरएनए आईसीसी निर्वाचन (२०२१-२३ ) का लागि महासचिव पदमा गौरीराज जोसीले उमेद्वारी दिने भएका छन् । बर्तमान आईसीसी सचिव जोसी आफ्ना सामाजिक र संस्थागत बलियो कायानुभव सहित आईसीसी नयाँ कार्यसमिती निर्वाचनमा महासचिव पदका लागि चुनावी प्रतिस्पर्धामा देखिने भएका हुन् ।
लामो समय देखी अमेरिकाको टेक्सासमा रहेर आफ्नो सामाजिक र व्यवसायिक सफल छवि स्थापित गरेका जोसी बर्तमान कार्यसमितीमा सर्वाधिक भोटका साथ विजयी सचिव भएकाले पनि उनलाई महासचिवको नेतृत्वमा देख्न सकिने संभावना धेरै रहेको छ । सार्वजनिक रुपमा आफ्नो उमेद्वारीबारे जोसीले बोली नसकेका भएपनि स्रोतका अनुसार चाँडै नै जोसीले एक कार्यक्रमको आयोजना गरी आधिकारिक चुनावी घोषणा गर्ने तयारी रहेको छ ।
चितवनको समान्य परिवारमा जन्मिएका जोसी काठमाडौंमा उच्च शिक्षा पुरा गरेर थप अध्ययनका लागि अमेरिका आउँदा उनले पैसा नभएर आफ्नो पुर्खौली जग्गा नै बेच्नु परेको थियो भने अमेरिका आएका सुरुवाती समयमा कोठाभाडा र पढाई खर्चका लागि संघर्ष गर्नु परेको थियो । जसकारण पनि उनिसंग नेपालबाट अमेरिका लगायत विभिन्न देशका लागि देश छोड्ने नेपालीको समस्यासंग देखी स्थापित हुने सम्मका अनुभव छन् । उनिवाट समाधानका लागि भएका यस अघिका पहल पनि प्रभावकारी छन् ।
पढाई पुरा गरेर सन् २००० तिर आइटी कम्पनीमा जागिर सुरु गरेका जोशी छोटो समयमा नै आफ्नै आइटी कम्पनी खोल्न सफल भए । टेक्सासको डालसमा रहेको भस्टिका नामको उनको आइटी कम्पनी अमेरिकाकै उत्कृष्ट मध्येको एक कम्पनी हो । दुई जनाबाट सुरू भएको भस्टिका हाल हजारौंलाई रोजगारी प्रदान गर्न मात्र होईन अमेरिकन एअरलाइन्स, एटीएन्ड टी, सीटी बैंक जस्ता प्रसिद्ध व्यवसायिक संस्थाहरुसंग समेत जोडिएको कम्पनी हो ।
रियल स्टेट, ग्याँस स्टेसन लगायतमा समेत व्यवसाय विस्तार रहेका जोशी एनआरएन भित्रको लगानी नेपाल भित्राएर मातृभूमीको विकाश गर्नु पर्ने, नयाँ पुस्तालाई नेपाल र नेपालीको महत्व महशुष गराएर देशसंग जोडिने वातावरण सृजना गर्नुपर्ने, विश्वभर रहेका नेपालीका समस्याको समाधान र आवश्यक सहयोगमा एनआरएनए गम्भिरताका साथ लाग्नु पर्ने लगायतका महत्वपूर्ण विषयमाथी आवाज उठाउँदै आएका अभियन्ता हुन् । जसले टेक्सासको नेपाली सांस्कृतिक केन्द्र, चितवनको हिन्दु विद्यालय, चेपाङ बस्ती, सिन्धुका शिक्षालय लगायका लाखौको सहयोग गरेका छन् ।
यस अघि काठमाडौंमा हुँदै आएको आईसीसी निर्वाचन यस बर्ष भने कोभिड पेण्डामिकका कारण आ आफ्नै स्थानबाट सुरक्षित तरिकाले नेतृत्व चुन्ने निर्णय भएको छ । प्रत्यक्ष सहभागिता जोखिम र असहज दुवै हुने भएकाले यस पटक भर्जुअल माध्यमबाट अनलाइन मार्फत भोटिगं हुने बताईएको छ ।