श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिंघेले सन् २०२६ सम्ममा आफ्नो देश आर्थिक संकटको अवस्थाबाट मुक्त हुने विश्वास व्यक्त गरेका छन् । आफ्नो सरकारको भावी नीतिका बारेमा संसदलाई सम्बोधन गर्दै विक्रमासिंघेले विभिन्न समूहको चुनौतीका बावजुद कर सुधार कार्यक्रम अघि बढाउने बताए । म राष्ट्रको हितका लागि अलोकप्रिय निर्णय गर्न तयार छु । जनताले ती निर्णयको महत्व दुई–तीन वर्षमा महसुस गर्नेछन् ।
विक्रमासिंघेले कठिनाइका बावजुद सरकारले कमजोर वर्गलाई आर्थिक संकटबाट जोगाउनका लागि कदम चालेको उल्लेख गरे । उनले देश अहिले नकारात्मक अर्थतन्त्रबाट सकारात्मक अर्थतन्त्रतर्फ अघि बढिरहेको बताउँदै सन् २०२३ को अन्त्यसम्ममा श्रीलंकाले आर्थिक वृद्धि हासिल गर्न सक्ने बताए । उनले संसदमा रहेका सबै दललाई एकताबद्ध भएर देश बनाउने प्रक्रियामा सहभागी हुन आग्रह गरे ।