छालाको क्यान्सरबाट पीडित अमेरिकी प्रथम महिला महारोगविरुद्धको राष्ट्रिय अभियानमा


2023 Jan 18

अमेरिकी प्रथम महिला जिल बाईडेन छालाको क्यान्सरबाट पीडित हुनुभएको छ । केही समयअघि उहाँको दाहिने आँखाको माथिल्लो भागमा देखिएको घाउ छालाको क्यान्सर भएको चिकित्सकहरूले पुष्टि गरे । नियमित परीक्षणका क्रममा उहाँमा उक्त रोग लागेको पुष्टि भएको हो ।

प्रथम महिलालाई उपचार गरेमा निको हुने खालको छालाको क्यान्सर भएको हो । परीक्षणका क्रममा चिकित्सकहरूले उहाँको वायातिरको वक्षस्थलको भाग र वाया आँखाको माथिल्लो भागमा पनि क्यान्सर लागेको पत्ता लगाए । रोग लागेको भाग हटाइएको छ । समयमै उपचार गर्दा निको हुने खालको क्यान्सर लागेकाले आत्तिनुपर्ने अवस्था नभएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

आफूलाई क्यान्सर भएनभएको यकिन गर्न नियमितरूपमा स्वास्थ्य परीक्षण गराउन सर्वसाधारणलाई अभिप्रेरित गर्दै आउनु भएकी प्रथम महिलाको यो अभियान नयाँ होइन । न त उहाँका छोराको सन् २०१५ मा मष्तिष्क क्यान्सर लागेर निधन भए पछि प्रारम्भ भएको हो । जिल वाइडेनले दशकौँ अघिदेखि क्यान्सरविरुद्धको अभियानमा आफूलाई सक्रिय राख्नु भएको छ । शीर्ष नेताकी पत्नीका रूपमा परिचय सार्वजनिक हुनुअघिदेखि नै यो महारोगविरुद्धको अभियानमा उहाँ होमिनु भएको छ । ‘तपाईलाई क्यान्सर भएको छ’ यो वाक्यांशले आफूलाई सर्वाधिक पीडा दिने उहाँ बताउनुहुन्छ । यो रोग लागेकाले पनि आफूले जस्तै असिम पीडा महसुस गर्ने उहाँलाई लाग्छ ।
प्रथम महिलाले क्यान्सरविरुद्धको आफ्नो भावी अभियानलाई कहिले र कसरी अघि बढाउनुहुन्छ भन्ने अनुमान अहिले नै गर्नु अपरिपक्व हुनेछ । उहाँको अवस्था, अनुभवले जनमानसमा क्यान्सरप्रतिको चेतना अभिवृद्धि, अनुसन्धान तथा सर्वसाधारणलाई नियमित स्वास्थ्य परीक्षण अर्थात् क्यान्सर लागेनलागेको सुनिश्चित गर्न अभिप्रेरित गर्नेछ । सार्वजनिक जीवनका व्यक्तिहरूका व्यक्तिगत अनुभूति र भोगाइ चेतना जागृतिका निम्ति अमूल्य हुनेछन् ।

प्रथम महिलाकी प्रवक्ता वानेसा वाल्डिभिया व्यक्तिगतरूपमा नै जिल बाइडेन क्यान्सरविरुद्ध लाग्नुभएको बताउनुहुन्छ । क्यान्सर जोकोहीलाई लाग्नसक्ने उहाँको बुझाइ छ । क्यान्सरप्रति सचेत रहन र समयमै उपचारका निम्ति अग्रसर हुन उहाँले सन् १९९३ देखि नै अभियान थाल्नुभएको हो । त्यसबेला उहाँका चार जना साथीलाई स्तन क्यान्सर भएको थियो । चार जनामध्ये एक जनाको निधन भएपछि उहाँ यो महारोगलाई परास्त गर्ने अभियानमा जुट्नु भएको छ । रोगको रोकथाम र निधानसम्बन्धी एक कार्यक्रमलाई गत वर्ष सम्बोधन गर्दै उहाँले मृतक आफ्नी मित्र विनीबाट प्रेरणा पाएर आफू अभियानमा लागेको बताउनुभएको थियो ।

जिल बाइडेनले विगतका घटना र आफ्ना अनुभवबाट प्रेरित बाइडेन ब्रष्ट हेल्थ इनिसिएटिभ्स प्रारम्भ गर्नुभयो । सोह्रदेखि १८ वर्षका युवतीलाई आफ्ना स्तनबारे ध्यान दिन तथा स्तन स्वास्थ्य प्रवद्र्धन गर्न उहाँले थाल्नुभएको यो प्रयास अमेरिकामा पहिलो हो । डेलावरका माध्यमिक विद्यालयहरूमा गएर उहाँले स्तन स्वास्थ्यबारे प्रवचन तथा प्रदर्शन गर्नुभयो । संयोग पनि अनौठो र दुःखद् छ– उहाँका पिता डोनाल्ड ज्याकोबको सन् १९९९ र आमा बोनी जीनको सन् २००८ मा क्यान्सरबाटै मृत्यु भयो । सन् २०१५ को मे महिनामा राष्ट्रपतिकी दिवङ्गत जेठी श्रीमतीतर्फका छोराको पनि क्यान्सबाटै ज्यान गयो । बाइडेन त्यसबखल उपराष्ट्रपति हुनुहुन्थ्यो । जो बाइडेनकी पहिली पत्नीको पहिले नै निधन भएकाले जिलले नै बाउ बाइडेनलाई हुर्काइबढाइ गर्नुभएको थियो । आफ्ना छोराको निधनपछि बाइडेन दम्पती क्यान्सरविरुद्धको अभियानमा होमिनुभएको हो ।

क्यान्सरविरुद्धको अभियानलाई राष्ट्रिय प्रतिबद्धताका रूपमा अघि बढाउन तत्कालीन राष्ट्रपति बाराक ओबामाले उपराष्ट्रपति बाइडेनलाई मुख्य जिम्मेवारी सुम्पनुभयो । राष्ट्रपतिमा निर्वाचित भएपछि जो बाइडेनले आगामी २५ वर्षमा क्यान्सरबाट हुने मृत्युलाई ५० प्रतिशतमा झार्ने लक्ष्यका साथ काम गरिरहनुभएको छ । बाइडेन दम्पतीले क्यान्सरका बिरामी, उपचारपछि बाँचेका पूर्वबिरामी, स्वास्थ्यसेवक, परिचारक, अनुसन्धानकर्ता, चिकित्सक र क्यान्सरविरुद्धको अभियानमा होमिएका सबैलाई एकताबद्ध भएर उक्त लक्ष्य हासिल गर्ने दिशामा सघाउन आह्वान गर्नुभएको छ । एकहत्तर वर्षीया जिलले प्रथम महिलाको पद समाज सेवा र क्यान्सरकै विरुद्ध उपयोग गर्दै आउनुभएको छ ।

error: Content is protected !!