एलन मस्कले एक वर्षमै गुमाए १ खर्ब ६५ अर्ब डलर


2023 Jan 13

केही समय अघिसम्म विश्वकै धनी व्यक्ति रहेका एलन मस्कले इतिहासमै सबैभन्दा धेरै सम्पत्ति गुमाउने विश्व कीर्तिमान तोडेका छन् ।

गिनिज वर्ल्ड रेकर्ड्सले २०२१ को नोभेम्बरदेखि २०२२ को डिसेम्बरसम्म एलन मस्कले १ खर्ब ६५ अर्ब डलर सम्पत्ति गुमाएको बताएको छ । यी तथ्याङ्कहरू फोर्ब्स पत्रिकाको तथ्याङ्कमा आधारित छन् । गिनिज वर्ल्ड रेकर्ड्सले मस्कले गुमाएको सम्पत्तिको मात्रा योभन्दा धेरै हुन सक्ने पनि जनाएको छ ।

गएको वर्ष ४४ अर्ब डलरमा ट्विटर कम्पनी खरिद गरेपछि मस्कको विद्युतीय कार कम्पनी टेस्लाको शेयर मूल्यमा ठूलो गिरावट आएको छ । ट्विटर खरिद गरेपछि मस्कले टेस्लामा खासै ध्यान नदिएको लगानीकर्ताले गुनासो गरेका छन् ।

मस्कभन्दा पहिले सबैभन्दा धेरै सम्पत्ति गुमाउने मामिलामा विश्व कीर्तिमान जापानी प्राविधिक लगानीकर्ता मासायोशी सनको नाममा थियो । मासायोशी सनले सन् २००० मा झन्डै ५९ अर्ब डलर गुमाएका थिए ।

error: Content is protected !!